हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट
हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु:- राजु बिष्ट
हाम्रो क्षेत्रमा लागू पदार्थको तस्करी र दुरुपयोगमा वृद्धि कसैबाट लुकेको छैन। लागू पदार्थको कुलतको स्थानीय समुदायमाथि गम्भीर कुप्रभाव पर्दछ किनकि धेरैभन्दा धेरै युवाहरूले ड्रग्सको कुलतमा परेर आफ्ना जीवनलाई साथै सम्पूर्ण समाजलाई समेत खतरामा पुऱ्याइरहेका छन्। ड्रग्सको कुलतको खतरा यति भयङ्कर हुन्छ कि युवाहरूको सम्पूर्ण पिँढ़ी बर्बाद भएर जाने जोखिम हुन्छ, अनि हाम्रो क्षेत्रका सैकड़ौँ परिवारहरू यसका कारण पीड़ित छन्।
यस सम्बन्धमा मैले, दार्जीलिङ्ग जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्ग पुलिस अधिक्षक, अनि सिलगढ़ी पुलिस आयुक्तसँग हाम्रो क्षेत्रमा ड्रग्स तस्करीको शृङ्खलाबारे पूर्ण रूपले अन्वेषण गर्न अनुरोध गरेँ।
मैले अति संवेदनशील "चिकेन नेक" क्षेत्रभरि अवैध बार, जुवाका अड्डा, मानव तस्करी, नक्कली मुद्रा, सुन तस्करी, लागू पदार्थ तस्करी, निषिद्ध वस्तु व्यापार, अनि हतियारहरूको तस्करीको बढ्दो संख्याबारे स्थानीय बासिन्दाहरूबाट शिकायत प्राप्त गरेको छु। हाम्रो क्षेत्र नेपाल, चीन, भुटान र बाङ्ग्लादेशसँगका अन्तर्राष्ट्रिय सिमानाले घेरिएको, अनि दक्षिणपूर्व एशियाली छिमेकी देशहरूको प्रवेश द्वार भएको हुँदा, यस्ता गैर-कानूनी गतिविधिले हाम्रो राष्ट्रीय सुरक्षालाई खतरा पुऱ्याउँदछन्।
यसमा एउटा अत्यन्तै चिन्तापूर्ण विषय छ कि पहाड़मा ड्रगसम्बन्धी अपराधमा पक्रा परेका कतिपय व्यक्तिहरूले 'यस्ता गैर-कानूनी गतिविधिहरूमा अनि ड्रग तस्करी शृङ्खलामा पुलिस बल र प्रशासनभित्रैका केही व्यक्तिहरू संलिप्त रहेका र तिनीहरूले तस्करहरूका समूहहरूलाई सुरक्षा प्रदान गर्ने गरेका' आरोप लगाएका छन्।
मैले दार्जीलिङ्गका जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्गका पुलिस अधिक्षक र सिलगढ़ीका पुलिस आयुक्तलाई यी आरोपहरूको पूर्ण अन्वेषण गर्न अनि ड्रग्स आपूर्ति र तस्करीमा संलिप्त सबै अपराधीविरुद्ध कड़ाभन्दा कड़ा कारबाही गरियोस् भनी सुनिश्चित गर्न अनुरोध गरेको छु।
साथै, मैले हालैका दिनमा यस्ता तस्करी काण्डहरूमा मुछिएका व्यक्तिहरूबाट ड्रग्स जफत गरिएका र गिरफ्तारी गरिएका खबरहरू कैयौँ मीडिया रिपोर्टहरूमा पढ़ेको छु। दार्जीलिङ्ग पुलिस र सिलगढ़ी पुलिस आयुक्त कार्यालयद्वारा यस दिशामा देखाइएको जोश र प्रतिबद्धता सराहनीय छ। तसर्थ, हाम्रो क्षेत्रमा ड्रग्सको दुरुपयोग गर्ने र तस्करी गर्नेहरूविरुद्ध धरपकड़को कारबाही गरेकोमा मैले दार्जीलिङ्गका जिल्ला म्याजिस्ट्रेट, दार्जीलिङ्ग पुलिस अधिक्षक र सिलगढ़ी पुलिस आयुक्तलाई धन्यवाद पनि दिएको छु।
ड्रग्सको तस्करी अनि अन्य गैर-कानूनी गतिविधिहरूमा संलिप्त सबै व्यक्तिहरूको पहिचान गरेर तिनीहरूलाई सजाय दिलाउनका लागि उनीहरूले आफ्ना प्रयास जारी राख्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ। हाम्रो क्षेत्रलाई ड्रग्स-मुक्त बनाउने दिशामा मेरो सम्पूर्ण सहयोगको आश्वासन मैले उनीहरूलाई दिएको छु।
राजु बिष्ट
लोकसभा सांसद, दार्जीलिङ्ग एवं
राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी
Comments
Post a Comment